काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा केपी शर्मा ओली बालुवाटारबाट बालकोट पुग्नु परेको टिप्पणी गरेका छन् ।
भक्तपुरुको मध्यपुर नगरपालिका–३को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै जनमत र विधिको शासनको उपहास गर्दा ओली बालुवाटारबाट बालकोट पुग्नु परेको टिप्पणी गरेका हुन् । उनले बालुवाटारबाट बालकोट पुग्नु परेको ओलीले बाध्यताबाट सबैले पाठ सिक्नुपर्ने पनि बताए ।
“जनताले दिएको म्यान्डेटको अपमान गरेर म नै विधि म नै कानुन, मैले जे गरे पनि हुन्छ भन्ने सोचले ओलीको बहिर्गमन भएको हो,” सिंहले भने,“संविधान र कानुनभन्दा माथि कोही पनि हुँदैनन् ।” ओलीमा बढेको अहमताले मुलुकको राष्ट्रिय राजनीति फरक ढंगले अघि बढेको भन्दै उनले ओलीको भनाइ र गराइमा फरक रहेको बताए ।
नेता सिंहले एमाले अध्यक्ष ओलीलाई आफ्नो शासनकालमा आएका भ्रष्टाचारसम्बन्धी समाचार स्मरण गर्न आग्रह गरे । नेता सिंहले जनप्रतिनिधि जनता र मुलुकप्रति उत्तरदायी हुनुपर्ने भन्दै जनप्रतिनिधिले गर्ने व्यवहारलाई नागरिकले उच्च महत्वका साथ हेर्ने गरेको पनि बताए ।