काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादी लडाकूको क्यान्टोनमेन्टमा भएको भनिएको भ्रष्टाचार मुद्दा संसद्मा उठाएका छन् ।
सरकारबाट बाहिरिएपछि पहिलोपटक मंगलबार प्रमुख प्रतिपक्षी नेताका रुपमा बोल्दै ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित जोडिएको भनिएको क्यान्टोनमेन्ट भ्रष्टाचार मुद्दा उठाएका हुन् ।
“संयुक्त सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचारविरुद्ध कारबाही हुन्छ भनेको देखेँ, खुसी लाग्यो,” उनले भने,“भ्रष्टाचारको कुरा उठेको बेला क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा उठेको छ यसबारे छानबिन गरेर सरकारले देखाओस् ।”
ओलीले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना पनि छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिए । “ललिता निवास र मातातीर्थको जग्गा पनि छानबिन गर्छ होला । सर्दु जलाधार क्षेत्रको पनि क्लियर हुन्छ होला,” उनले भने ।
उनले सरकारले जनयुद्धका घाइतेहरुको उपचार गर्न पनि सरकारलाई आग्रह गरे । “जनयुद्धका घाइतेहरुको उपचार सरकारले गर्छु भन्नुस्,” उनले भने,“यदि सरकारले सक्दैन भने एमालेको केन्द्रीय कार्यालय थापाथलीमा पठाउनु म उपचार गर्छु ।”