काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो । आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले जानकारी दिइन् ।
कार्यदलले शुक्रबार गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेर बहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझ न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी एवम् सांसद् दुर्गा पौडेल सहभागी रहेका थिए ।