काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल मन्त्रीहरुले पालन गर्नुपर्ने आचार संहिता तयार भएको छ । सत्तारुढ गठबन्धनको कार्यदलले आचारसंंहिता तयार पारेको हो । उक्त आचारसंहितालाई शुक्रबार गठबन्धनको शीर्ष नेताहरुको बैठकमा पेस गरिने छ ।
आचारसंहितामा मुलुक र जनताको हितविपरीत कुनै पनि क्रियाकलापबाट अलग रहने पदीय मर्यादा, प्रतिष्ठ र जिम्मेवारीमा आँच पुग्नेगरी कसैसँग सम्बन्ध राख्न नपाइने उल्लेख छ ।
मन्त्रीहरुको आचार संहितामा भनिएको छ,“पदीय जिम्मेवारी निर्वाह गर्दा व्यक्तिगत स्वार्थबाट प्रभावित भइ कुनै प्रकारको अनियमितता तथा भ्रष्टाचारजन्य कार्य गरी आय आर्जन गर्ने पाइने छैन ।”
यस्तो छ मन्त्रीहरुले पालना गर्नुपर्ने आचार संहिता
१) संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा आर्थिक, सामाजिक रुपान्तरणको मूल अभिभार पूरा गर्न अग्रसर हुनुपर्ने छ ।
२) मन्त्रीले देश र जनताप्रति उत्तरदायी भइ निष्ठापूर्वक आफ्नो काम सम्पादन गर्नुपर्ने छ । साथै प्रधानमन्त्री र संघीय संसद्प्रति जबाफदेही हुनुपर्ने छ ।
३) संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमप्रति पूर्ण प्रतिबद्ध हुँदै कार्यान्वयनका लागि निष्पक्ष र सक्रियतापूर्वक गर्नुपर्ने छ ।
४) पदमा बहाली हँदा र पदमुक्त हुँदा कानुनबमोजिम आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने छ ।
५) सरकार सञ्चालनका सम्बन्धमा प्रधानमन्त्रीको निर्देशन पालना गर्ने तथा प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने छ ।
६) पदको गरिमालाई कायम राख्दै कानुनबमोजिम आफ्नो कर्तव्यको निर्वाह गर्नुपर्ने छ ।
७) स्वाच्छ आचरण र उच्च नैतिकता कायम गर्दै कुनै प्रलोभन एवम् दवावमा नपरी आफ्नो पदीय जिम्मेवारी इमान्दारीताका साथ गर्नुपर्ने छ ।
८) पद र अख्तियारीको दुरुपयोग गर्ने वा कुनै पनि अनुचित र गैरकानुनी सुविधा उपलब्ध गर्न गराउन पाइने छैन ।
९) मन्त्रिपरिषद्को गोपनीयता कायम गर्दै अनुशासन र शिष्टाचारको पूर्णरुपमा पलना गर्नुपर्ने छ ।
१०) पदीय जिम्मेवारी निर्वाह गर्दा व्यक्तिगत स्वार्थबाट प्रेरित भइ अनियमितता तथा भ्रष्टाचारजन्य कार्य गर्न पाइने छैन ।
११) मन्त्रीहरुले सादा जीवन र कडा परिश्रमको नीतिप्रति प्रतिबद्ध रहँदै मितव्ययिता अपनाउनुपर्ने छ ।
१२) मुलुक र जनताको हितविपरीत कुनै पनि क्रियाकलापमा संलग्न हुन पाइने छैन । पदीय मर्यादा, प्रतिष्ठा र जिम्मेवारीमा आँच पुग्नेगरी कसैसँग सम्बन्ध राख्न पाइने छैन ।
१३) आफ्नो पदीय हैसियतबाट गरिने कुनैपनि मनोनयन र नियुक्ति निष्पक्ष, स्वतन्त्र तथा समावेशी ढंगले गर्नुपर्ने छ ।
१४) आचार संहिताविपरीत कार्य गरेको पाइएमा प्रधानमन्त्रीले पदमुक्त गर्ने छ । यसका लागि प्रधानमन्त्रीले सम्बन्धित दलसँग आवश्यकताअनुसार परामर्श गर्न सक्ने छन् ।