काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले नेपाल सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिएका छन् ।
बुधबार मन्त्रालयको वित्तिय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङ लिने क्रममा उनले घाटामा सञ्चालित सार्वजनिक संस्थानहरुलाई उकास्ने नीति र कार्यक्रम तय गर्न निर्देशन दिएका हुन् ।
“के कस्तो नीति बनाउँदा सार्वजनिक संस्थानहरुलाई नाफामा लिन सकिन्छ ? के–के समस्या समाधान गर्नुपर्ने हो ? तत्काल त्यसको विस्तृत सूची तयार गर्नुस्,” मन्त्री शर्माले सम्बद्ध कर्मचारीलाई निर्देशन दिए ।
सोही क्रममा अर्थसचिव मधुकुमार मरासिनीले धेरैजसो सार्वजनिक संस्थानहरुको स्थिति राम्रो नभएको भन्दै सुधार गर्नुपर्ने अवस्था रहेको बताए ।
सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानहरु ४४ वटा रहेका छन् । औधोगिक क्षेत्रका १०, जनउपयोगी ५, व्यापारिक ५, वित्तिय ९, सामाजिक ५ र सेवा क्षेत्रका १० वटा छन् । यसमध्ये नाफामा सञ्चालित संस्थान १४ वटा छन् भने घाटामा सञ्चालित १८ वटा रहेका छन् ।