एउटै घटनाले परालखुट्टे सरकारको हैसियत देखियो : खिमलाल भट्टराई

315

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले एउटै घटनाले सरकारको कमजोर धरातल उदाङ्गिएको बताएका छन् ।

बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै भट्टराईले दार्चुलामा जयसिंह धामी एसएसबीले डोरी काटिदिएका कारण महाकाली नदीमा खसेको भन्न पनि सरकारले आँट नगरेको दबी गरे ।

“जयसिंह धामी एसएसबीले डोरी काटिदिँदा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । देखि–जान्नेले यहीँ भनेका छन्,”उनले भने,“सरकार किन खुट्टा कमाउँदै छ ? भारतीय पक्षसँग वार्ता गर्नु पर्दैन ? भारतीय राजदूतलाई बोलाएर सोध्नु पर्दैन ?”

उनले एसएसबीका जवानलाई कारबाही गराउनसमेत सरकारले हैसियत नराखेको भन्दै सरकारको कमजोर जग यसको कारण भएको बताए । “एउटै घटनाले परमादेश सरकारको परालखुट्टा देखिएको छ,” भट्टराईले भने ।

यस्तै, उनले प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो प्राथमिकता भनेको ‘खोप, खोप, खोप’ भने पनि अहिलेसम्म खोप व्यवस्थापन गर्न नसकेको आरोप लगाए ।

उनले प्रश्न गरे, “खोइ त प्रधानमन्त्रीज्यू ? खोप चाहियो ।”

केपी शर्मा ओली नेतृत्वको सरकारले नै सबै जनतालाई पुग्नेगरी खोपको प्रबन्ध गरेको दाबी गर्दै उनले अरुले नै व्यवस्थापन गरेको खोप पनि यो सरकारले जनतामा व्यवस्थितरुपमा लैजान नसकेको जिकिर गरे । “यो चिन्ताको कुरा हो,” उनले भने,“खोप त होटल र पहुँचवालाको घरमा पुग्न थाले ।”

Share This:
सम्बन्धित खबर
Loading...