काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले सरकारका प्राथमिकता र मन्त्रीहरुका लागि आचार संहिता तयार गरेको छ । न्यूनतम साझा कार्यक्रमलाई अन्तिरुप दिने उद्देश्यले आज कार्यदलको बैठक पनि बस्ने भएको छ ।
मस्यौदामा केपी शर्मा ओली नेतृत्वको सरकारका बेला स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिए कारबाही प्रक्रिया अघि बढाउने विषय पनि समेटिएको छ ।
यस्तै, चैत मसान्तसम्म खोप लगाउनयोग्य सबैलाई निःशुल्क खोप दिने, वैदेशिक सहायतालाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गरिनुपर्ने, राष्ट्रिय हित प्रतिकूल रहेका सन्धि सम्झौता पुनरावलोकन गर्नुपर्ने पनि मस्यौदामा उल्लेख छ ।
यसका साथै, स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन पहल गर्न पनि कार्यदलले सुझाएको छ । संसद्मा विचराधीन संघीय निजामती विधेयक, नागरिकता विधेयकलगायत अनि आवश्यक विधेयकलाई जतिसक्दो छिटो पारित गराउने र विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकारको व्यवस्था गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले यसअघि बनाइएको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिने भएको छ । त्यसपछि गठबन्धनका शीर्ष नेताहरुसँगको परमार्श गरेपछि प्रतिवेदन सार्वजनिक गर्ने कार्यदलको तयारी छ ।
कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वको कार्यदलमा कांग्रेसबाट डा.मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ छन् ।