काठमाडौं । नेकपा (एमाले)की नेतृ राम कुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रतिगमनकारी रहेको बताउँदै उनलाई शीरमा राखेर एउटै पार्टीमा बस्न नसकिने बताएकी छन् ।
शनिबार एमाले माधव कुमार नेपाल समूहनिकट अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै झाँक्रीले पार्टीमा दुई नेताको जुँगाको लडाइँ मात्र नभइ गम्भीर राजनीतिक विचलन भएको बताइन् । झाँक्रीले २ तिहाइ बहुमत भएको पार्टी आज सदनमा ८३ जनामात्र उपस्थित हुने वातावरण बन्यो ? निर्विकल्परुपमा उदय भएको कम्युनिस्ट पार्टीको विघटन किन भयो ? यसको जबाफ नखोजी पार्टी एकताका लागि वार्तामा गएका पात्रहरुको गाला जोडाएर मात्र पार्टी एकता नहुने बताइन् ।
“आज कतिजना वार्ता गर्दैछन् यो महत्वपूर्ण हैन । आज कुन एजेन्डामा कसले कुरा गर्दै छ यो महत्वपूर्ण हो । कुन दर्जाका व्यक्तिले वार्ता गर्दैछन् सवाल यो महत्वपूर्ण हैन, आज सैद्धान्तिक, नैतिक, वैचारिक हिसावले को खडा भएको छ त्यो महत्वपूर्ण हो,” उनले भनिन् ।
कार्यादलमार्फत् एमाले मिलाउन लागेका आफ्नै समूहका नेताहरुप्रति पनि उनले कटाक्ष गरिन् । उनीहरुले लाग्दैमा पार्टी नमिल्ने दाबी गरिन् । “आज वार्ता समितिमा रहेका साथीहरुले आज मिलाउने, भोलि मिलाउने, टुनाइट मिलाउने भन्दै हुनुहुन्छ,” झाँक्रीको भनाइ छ,“१० बुँदेलगायतका थुप्रै प्रस्ताव हामीले मिडियामा देखिरहेका छौँ । हामी पार्टी एकता त गरौँला । फलाना–तिलना कमरेडहरु त्यता लाग्नुभयो अनि पार्टी एकता भन्ने कुरा त्यति सहज होला र ?”
केपी शर्मा ओलीले अध्यक्ष पद छाडेपछि मात्रै पार्टी एकता हुने उनको भनाइ छ । “पार्टी एकता हुन्छ, कहिले हुन्छ ?” उनको जबाफ छ,“जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ ।”
झाँक्रीले ओलीविरुद्ध आफूहरुले गरेको विद्रोहले अन्ततः वैधता पाएको दाबी गरिन् । “हामीले प्रमाणित गरेर देखायौँ । आज हामीले गरेको विद्रोहले वैधता प्राप्त गरेको छ । हामीमाथि कसैले औला ठडाउन सक्ने अवस्था छैन” उनले भनिन् ।