काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन सम्झौता संसद्मा पेस गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद् रावलले एमसिसी सम्झौता संसद्बाट अनुमोदन नभइ कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्नेलगायतका काम सुरु भइसकेको बताए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलमा रहेका एमसिसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको तर कार्यान्वयनसम्बन्धी सम्झौता हुन नपाएको भन्दै उनले भने,“मूल सम्झौतासँग भएका सबै सम्झौता यहाँ पेस गरियोस् ।”
उनले एमसिसीसँगै भएका अन्य सम्झौता पनि सार्वजनिक गर्न माग गरे । “त्यो जनताले थाहा पाउनुपर्छ । एमसिसीमा रहेको देशहितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए त्यो राष्ट्रत हुने छ । यसलाई संसोधन नगरीकन अनुमोदन नगरियोस्,” रावलले भने ।
उनले अघि भने,“त्यहाँ भएका स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीतिविपरीतका प्रावधानहरु परिवर्तन नभइ यदि सम्झौता गरिए राष्ट्रघात हुने छ ।”
अमेरिकाका मन्त्रीले एमसिसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको भनेर विज्ञप्ति जारी गरिसकेको उनले दाबी गरे । “अमेरिकाका मन्त्रीले नै यो इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनेर विज्ञप्ति जारी गरिसकेका छन् । अमेरिकी मन्त्री आधिकारिक हुन्छ् कि यहाँका व्याख्याता ? यहाँका व्याख्याताले होइन भन्दैमा हुन्छ ? उनले प्रश्न गरे ।