काठमाडौं । नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यताबारे विवाद हल गर्न उच्चस्तरीय समितिको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शुक्रबार बिहान साढे ११ बजे छलफल सुरु भएको हो ।
क्रियाशील सदस्यता छानबिन समितिले निरुपण गर्न नसकेको क्रियाशील सदस्यताको समाधान खोज्न सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छलफलमा जुटेका हुन् ।
केन्द्रय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले विवाद हल गर्न नसकेका विषय शीर्ष नेतृत्वलाई सुम्पेका थिए ।
बिहीबार बसेको पदाधिकारी बैठकले क्रियाशीलबारे देखिएका विवाद नेतृत्वबाट हल गर्ने निर्णय गरेको थियो । जसअनुसार शीर्ष नेताले ५ दिनभित्र क्रियाशीलमा देखिएको विवाद हल गर्न समय लिएका थिए ।
कांग्रेसमा बारा र सप्तरीमा नयाँ क्रियाशील सदस्यबारे विवाद छ । यस्तै, घनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवाका केही वडासहित करिब १ सय वटा वडामा विवाद छ ।