गण्डकी । गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री एवम् नेकपा (एमाले) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी संगठित भएर अघि बढ्ने बताएका छन् ।
मदन भण्डारी फाउन्डेसन कास्कीद्वारा बिहीबार पोखरामा आयोजित ‘पार्टीभित्रको समस्या समाधानमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आगामी एक–दुई दिनभित्रै पार्टी एकीकरणको टुंगो लाग्ने विश्वास व्यक्त गरे ।
“पार्टीलाई एक ढिक्का बनाउन दोस्रो पुस्ताको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ,” उनले भने,“पार्टी एकताका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको प्रत्यक्ष वार्ताको तयारी भएको छ ।”
एमालेको केन्द्रीय सचिवसमेत रहेका गुरुङले संगठित पार्टी निर्माणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पार्टीको आगामी महाधिवेशनले अहिले देखिएको असन्तुष्टिको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्नेमा जोड दिए ।