काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति ल्याउन आफूले अवरोध नगरेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको छलफलमा बोल्दै उनले अर्थतन्त्रमा नकरात्मक प्रभाव नपरोस् भनेर गभर्नरलाई केही सुझाव भने दिएको बताए ।
राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीहरुको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकरात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको उनले बताए । उनले अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर जनतालाई जानकारी दिन मात्र यथार्थस्थिति स्पष्ट पार्न खोजिएको पनि उनले बताए ।
मौद्रिक नीति आउन ढिलाइ हुनुको कारण अर्थमन्त्री भएको कुरा आइरहेका बेला उनले आफ्नो कारणले त्यसो नभएको स्पष्टीकरण दिएका हुन् । राष्ट्र बैंक आफैँमा स्वायत्त संस्था भएकाले मौद्रिक नीति कहिले ल्याउने भन्ने कुरा राष्ट्र बैंकको भएको उनको भनाइ थियो ।
अर्थ सचिव शिशिर कुमार ढुंगानाले अर्थतन्त्रको स्थिति कमजोर अवीथामा रहेको भन्दै पुँजीगत खर्च बढाउने र व्यापार घाटा कम गर्ने दिशामा मेहेनत गर्नुपर्ने अवस्था रहेको बताए ।