व्यापारीलाई मन्त्री बनाउनु हुँदैन भन्नु गलत : लोहनी

272

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले व्यापारीलाई मन्त्री बनाउनै हुँदैन भन्ने तर्क पनि ठीक नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत अधिकांश नेपालका राजनीतिज्ञहरु सत्ता दुरुपयोग गरी पैसा कमाउन कस्सिएका व्यापारी भएकाले मन्त्री बनाउनै हुँदैन भन्ने तर्क ठीक नभएको बताएका हुन् । वार्षिक आम्दानीको श्रोत र नेपालमा राजनीतिज्ञहरुले तिरेको करको रेकर्ड हेरे उनीहरुको नियत तत्काल थाहा हुने उनले दाबी गरे ।

लोहनीले फेसबुकमा लेखेका छन्,“यथार्थ के छ भने अधिकांश नेपालका राजनीतिज्ञहरु सत्ता दुरुपयोग गरी जति सकिन्छ बढी पैसा कमाउन कस्सिएका व्यापारी हुन् । यो कुरा उनीहरुको सम्पति, उनीहरुको वार्षिक आम्दानीको श्रोत र उनीहरुले तिरेको करको रेकर्ड हेरे तुरुन्त थाहा हुन्छ ।अब अर्बौ खुला व्यापार गर्ने व्यवसायीहरु हामीलाई पनि सत्ता चाहियो भन्न थालेका छन् । उनीहरुसँग भएको सीपको राष्ट्रले उपयोग गर्न सके ठीकै हो तर यसका लागि निम्न कुराहरुमा ध्यान पुराउनु पर्छ।”

लोहनीले सामाजिक सञ्जालमा लेखेका छन् ।
१. व्यापारीलाई मन्त्री बनाउनै हुँदैन भन्ने तर्क पनि ठीक होइन । यथार्थ के छ भने अधिकांश नेपालका राजनीतिज्ञहरु सत्ता दुरुपयोग गरी जति सकिन्छ बढी पैसा कमाउन कस्सिएका व्यापारी हुन् ।

यो कुरा उनीहरुको सम्पति, उनीहरुको वार्षिक आम्दानीको श्रोत र उनीहरुले तिरेको करको रेकर्ड हेरे तुरुन्त थाहा हुन्छ । अब अरबौँ खुला व्यापार गर्ने व्यवसायीहरु हामीलाई पनि सत्ता चाहियो भन्न थालेका छन् । उनीहरुसँग भएको सीपको राष्ट्रले उपयोग गर्न सके ठीकै हो तर यसका लागि निम्न कुराहरुमा ध्यान पुराउनु पर्छ।

क. आफूलाई ठूला औधोगिक घराना भन्ने ठूला व्यापारीलगायत सबै खुला व्यापारीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा कुन कम्पनीमा कहाँ, कति लगानी र सम्पत्ति छ लगानीमा पार्टी नेताहरूको हिस्सा छ–छैन भन्ने सूचनालगायत आफूले कमाएको सम्पतिको श्रोत सार्वजनिक गर्नुपर्छ ।

ख. पदमा रहुञ्जेल खुला व्यापारी मन्त्रीहरुले आफ्नो सबै व्यापारिक स्वार्थबाट अलग भएको सुनिश्चितता गर्नु पर्छ र यसका लागि अविलम्ब आवश्यक कानुन सरकारले बनाइ लागु गर्नुपर्छ।

२. कतिपय विकासउन्मुख र विकसित देशहरूमा समेत अर्बपतिहरु सत्तामा जान वा मन्त्री हुन हतार गर्दैनन् या चाहँदैनन् किनभने आफ्नो व्यापारको धेरै कुरा खुलाउन पर्छ र विवादमा परिन्छ। नेपालमा पनि केही ठूला घरानाहरुले यो कुरा बुझेका छन् र सकेसम्म आफू राजनीतिमा देखा परेका छैनन् ।

तर, नेपालमै एकथरी ठूला व्यापारी घरानाहरुको बढ्दो प्रत्यक्ष राजनैतिक प्रभावका कारण व्यापारीहरुलाई नेपालको जुनसुकै नेतासँग या जुनसुकै निकायमा पनि सेटिङ मिलाउन सकिन्छ भन्ने विश्वास बढेको छ । यो कुरा जनताले चाँडै बुझ्नु जरुरी छ नत्रभने लुकेका राजनीतिक–व्यापारी र खुला व्यापारी राजनीतिज्ञको डबल दोहनमा देश पर्न सक्छ।

३. पत्रकार विजय कुमारले मसँग भनेका थिए यो एक्काइसौँ शताप्दी वैश्य युग हो। कुरो ठीक हो तर आम जनताको हितसँग नियमन र नियन्त्रणको संरचना संग नजोडिएको वैश्ययुग जंगल युगमा रुपान्तरित हुन गाह्रो छैन । बिसौँ शताप्दीको सुरुमा यो प्रवृत्ति प्रष्टरुपमा अमेरिकामा देखिएको थियो । त्यसैले ठूला व्यापारी र ठूला राजनीतिज्ञ बीचको बडो ठूलो संघर्षपछि केही समयलाई नियन्त्रण गरियो ।

४. नेपाल को सन्दर्भमा ठूला दलका नेतामा डन हुने चाहाना छ अनि अर्थतन्त्रका नयाँ व्यापारिक डन निस्कदै छन् । यी दुई डन समूहबीच एक अर्कालाई कानुनको उपेक्षा गरेर पनि संरक्षण गर्ने संस्कृति बढेर जाने देखिन्छ।

गएको सरकारले यो दिशामा नयाँ किर्तिमान नै स्थापित गरेको थियो। यस्ता प्रवृत्तिमा नियन्त्रण र नियमन गर्न संवैधानिक निकायहरुमा भागबन्डाको संस्कार छोडेर निस्पक्षता र उत्कृष्टताको मापदण्ड लागु गर्ने र जनस्तरमा निरन्तर सजगता नअपनाउने हो भने नेपाल समाजवाद उन्मुख नभएर पार्टीका डन र व्यापारिक डन उन्मुख डनवाद देशमा रुपान्तरण हुने छ ।

यस क्रममा जनताको आक्रोश लाई नजर अन्दाज गर्नु अर्को ठूलो भुल हुने निश्चित छ।

Share This:
सम्बन्धित खबर
Loading...