काठमाडौं । सांसद् पदमा पुनःवहाली गर्न माग गर्दै पूर्वमाओवादीका चारजना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
गत चैत २६ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले आफूहरुलाई संसद् पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरु परमादेशबाट सांसद् पदमा पुनःबहाली माग गर्दै अदालतमा गएका हुन् ।
टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंक चौधरीले आफूहरुले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरु माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन् ।
माओवादी केन्द्रीय समितिले गर्नुपर्ने निर्णय गैरकानुनी तरिकाले अध्यक्ष प्रचण्डले मात्र गरेको र विधानले अध्यक्षलाई दिएको ५ वटा अधिकारमा प्रतिनिधिसभा सदस्यको पद खारेज गर्ने अधिकार नरहेको रिट निवेदनमा उल्लेख छ ।
यसैबीच सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइका निम्ती बिहीबारका लागि पेशी तोकेको छ ।