काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित तीनजना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।
मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाही गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
तीनै जना ठाकुर पक्षका हुन् । उनीहरु लुम्बिनी प्रदेश सरकारमा समेत सहभागी थिए । जसपाको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । उनीहरु सर्वोच्च अदालतमा गएपछि सर्वोच्चले उनीहरुलाई थमौती दिएको थियो ।
शंकर पोखरेल नेतृत्वको सरकारमा जसपाका ४ जना सांसद् सहभागी भएकामध्ये सुमन शर्मा राजमाझीले केही दिनअघि मात्रै राजीनामा दिएकी थिइन् । उनीमाथि भने केही कारबाही गरिएको छैन ।