काठमाडौं । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रको अहिलेको वास्तविक चित्र जनतालाई प्रस्तुत गर्न श्वेतपत्र सार्वजनिक गर्न खोज्दा अनावश्यक आतंक सिर्जना गर्न खोजिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
सोमबार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसहित अर्थविद्हरुसँगको छलफलमा बोल्दै मन्त्री शर्माले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्रको कुरा नउठाएको स्पष्ट पारेका छन् ।
“श्वेतपत्र सार्वजनिक गर्दा आरोपित गर्ने पुरानो चलन तोड्न चाहन्छु । मैले यसो गर्छु र उसो गर्छु भनेर घमण्ड देखाउने पनि हैन । जिम्मेवारी लिँदाको वास्तविक चित्र मात्र देखाउन खोजेको हुँ । तर, यसैलाई लिएर बजारमा आतंक सिर्जना भएको देखियो । आतंकित नहुन अनुरोध गर्छु,” उनले भने ।
मन्त्री शर्माले सरकार आगामी दिनमा कसरी बढ्न उपयुक्त हुन्छ भनेर सरोकारवालाहरुसँग छलफल गर्दै आएका छन् । उनले केही पूर्वअर्थमन्त्री, अर्थविद्हरुसँग छलफल गरेका छन् । उनले पुँजीगत खर्च बढाउन अर्थविद्हरुको सुझावानुसार नै तालिका बनाएर अघि बढ्ने बताए ।
“विकास निर्माणको कामलाई तीव्रता दिन विद्यमान सार्वजनिक खरिद ऐनका परम्परागत प्रावधानहरु पनि बाधक रहेकाले समयानुकूल बनाउन प्रयत्न पनि गर्ने छु,” अर्थमन्त्री शर्माले भने ।
जनसहभातिगा र समुदायमा आधारित विकास निर्माणको मोडालिटीले विकासको परम्परागत ढर्रामा परिवर्तन आउने भन्दै अर्थमन्त्री शर्माले भने,“जनताले स्वामित्व स्वीकार नगरेसम्म विकास निर्माणको कामले गति लिन सक्दैन, त्यसैले जनपरिचालनको मोडालिटी बनाउन आवश्यक देखेको छु ।”
छलफल कार्यक्रममा डा.विश्म्भर प्याकुरेलले विकासका आयोजनाहरुमा वित्तीय लागत घटाउने गरी काम गर्न सुझाव दिए ।
डा.खिमलाल देवकोटाले संघीयता कार्यान्वयनमा संघीय सरकारको चासो कम रहेको आरोप लगाए । ब्युरोक्रेसीको संरचना परिवर्तन गरी प्रदेश र स्थानीय तहमा शक्ति विन्यास गर्नुपर्नेमा उनले जोड दिए ।