काठमाडौं । नेकपा (एमाले)की सांसद् गंगा चौधरी सत्गौवाले साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद् नारदमुनि रानामाथि भएको व्यवहारको विरोध गरेकी छन् ।
समिति बैठकमा एमाले वरिष्ठ नेता मावध कुमार नेपालले सांसद् रानालाई प्रतिगमनको मतियार बाहिर जानुस् भनेका थिए ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद् सत्गौवाले उक्त घटना समस्त थारु समुदायको अपमान भएको बताइन् । “१० गते जुन दृष्य समितिभित्र देखियो, त्यो सदियौँदेखि शासकले थारुमाथि शोषण गरेको झझल्को दिलाउँछ,” सत्गौवाले भनिन् ।
समिति बैठकमा सांसद् नारदमुनि रानामाथि अधिनायकवादी चरित्र प्रदर्शन भएको र उनको वाक स्वतन्त्रणमाथि गम्भीर आघात पुगेको सांसद् सत्गौवाले बताइन् ।
“लोकतन्त्र भनेको के बोल्न नपाउने हो र ? फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? एउटा बराबर हैसियतको सांसद्लाई निस्केर जा भन्ने ? त्यहाँ सबैको एउटै हैसियत हैन र ?” उनले भनिन् ।