काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेकी छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताइन् ।
सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्नका लागि ऊर्जा क्षेत्र आधारभूत पूवार्धार भएको बताउँदै मन्त्री भुसालले भनिन्, “ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चा पदार्थ हो । त्यसको खपत स्वदेशमै हुनुपर्छ ।” नेपालमा उत्पादन भएको विद्युत् नेपालमै प्रयोग गर्न सक्ने गरी विकासका योजनाहरू बनाउर्ने विषयलाई केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिइन् ।
मन्त्री भुसालले विद्युतको दरमा पुनःविचार गर्ने नीति बनाउने बताइन् । उनले भनिन्, “हाम्रोमा विद्युत्को दर महङ्गो छ । सामान्य अर्थशास्त्रअनुसार जति धेरै उत्पादन हुन्छ, लागत मूल्य कम हुन्छ । उपभोक्ताका रूपमा मेलै गरेको अनुभव जति खपत बढी भयो दर कम हुनुपर्ने हो तर यहाँ त्यस्तो छैन । विद्युतको दरमा पुनःविचार गर्नुपर्छ । विद्युत् महशुल समायोजन गर्नुपर्छ ।”
निजी क्षेत्रले ऊर्जा क्षेत्रमा ठूलो लगानी गरेर राज्यलाई योगदान गरेको उल्लेख गर्दै भनिन्, “ निजी क्षेत्रको हामीले संरक्षण गर्नुपर्छ । उहाँहरूको अभिभावक पनि सरकार हो ।”
जनताको मैलिक हक र अधिकारमा ऊर्जा क्षेत्रले योगदान गर्नुपर्ने बेला आएको बताउँदै मन्त्री भुसालले भनिन्, “हामीले मौलिक अधिकारका रूपमा संविधानमा लेखेका छौँ, कानुन पनि बनाएका छौँ । जीवन व्यवहारमा स्वास्थ्य, सामाजिक सुरक्षालगायत क्षेत्रमा हामी काम गरेका छौँ । यो क्षेत्रले पनि त्यतातिर योगदा गनुपर्छ, त्यसतर्फ ध्यान दिनुपर्छ ।”
सर्वेक्षण र डिपिआर भएका ठूला जलासययुक्त र अर्धजलासयुक्त आयोजना सरकारले बनाउनुपर्नेमा जोड दिँदै उनले भनिन्, “ठूला जलाशययुक्त आयोजना जनता र अन्य क्षेत्रबाट लगानी जुटाएर निर्माण गनुपर्छ भन्ने निष्कर्षमा म पुगेको छु ।”
उत्पादन वृद्धि गर्ने, सस्तो दर तोक्ने, सहुलियत दिने र उपभोक्ता बढाउनेतर्फ आफू लाग्ने बताउँदै मन्त्री भुसालले डलर तिरेर ल्याएको एलपी ग्यास विस्थापित गर्न सके उपभोक्ताको संख्या बढ्ने र खपत पनि उल्लेख गरिन् । उनले उद्योग कलकारखानाको माग सम्बोधन गर्ने र विद्युतीय यातायातलाई जोड दिँदा विद्युत् खपत हुने विश्वास व्यक्त गरिन् ।
ऊर्जाको माध्यमबाट सिंचाइमा सहयोग गर्ने नीति आफूले ल्याउने बताउँदै उनले भनिन् । “कृषिमा सिंचाइको सुविधा दिन सक्यो भने पनि ठूलो राहत मिल्छ, डिजेल पेट्रोलका पम्प सेटहरु हामीले चनाउनुपर्दैन ।”
विद्युतीकरण हुन नसकेका क्षेत्र र जनतामा छिटोभन्दा छिटो केन्द्रीय प्रशारण लाइन पुर्याएर विद्युत् उपलब्ध गराने उनको भनाइ छ । उनले चाडो प्रशारण पुग्न नसक्ने स्थानमा वैकल्पिक ऊर्जा लगेर त्योद्वारा जनताको घरमा ऊज्याले पुर्याउने बताइन् ।