रुपन्देही । नेकपा (एमाले)का सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले एक साताभित्र पार्टी एकताको टुंगो लाग्ने दाबी गरेका छन् ।
सोमबार पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता ज्ञवालीले कार्यादलले तयार पारेको १० बुँदे आधारमा रहेर एकता अघि बढ्ने बताएका हुन् । “माधव कमरेडलगायत साथीहरु तत्काल नआए पार्टी एकताको ढोका खुला राख्दै अघि बढ्छौँ जुन दिन पार्टीमा फर्किनुहुन्छ सोही दिन पुरानै जिम्मेवारी दिइन्छ । तर, अब कुरेर बस्ने स्थिति छैन,” ज्ञवालीले भने ।
विपक्षी दलको नेतालाई सरकार बनाउँदासम्म पनि पार्टी एकता जोगाउन वर्तमान अध्यक्षले भूमिका खेले पनि एकतामा नआउनु भनेको एकता नचाहेको अर्थ बुझिने उनको टिप्पणी थियो ।
सत्ता गठबन्धनले दलको एउटै चाहना एमालेलाई कमजोर बनाएर राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा लैजान खोजे पनि एमालेले त्यसो हुन नदिने बताए ।