काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या एमालेको साथमा रहेको बताएका छन् ।
आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले भने,“केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास् भने अरे । यस्ता वाहियत कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेको कुनै २÷४ जनाको झुन्ड होइन । देशको बढी जनसंख्या नेकपा (एमाले)को साथमा छ, केपी ओलीको साथमा छ । अनि एउटा दुईटा कसले कविता न सविता भनेर लेख्छ, त्यसका पछाडि नेकपा एमाले कुद्छ ? नेकपा एमाले कुनै गुन्डा दल होइन । एउटा परिपक्व राजनीतिक पार्टी हो ।”
माधव कुमार नेपालतर्फ संकेत गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीको पुच्छर भएको र आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाए ।
आफ्नो सरकार ढालेर माधव नेपालले देशमा प्रतिगमन गराउन सफल भएको बताए । “अब देश धेरै अप्ठ्यारोमा परेको छ । यो प्रतिगमन सच्चिन सजिलो छैन । धेरै गम्भीर अवस्थामा प्रतिगमन गइसकेको छ । देश अप्ठ्यारो मोडमा पुगिसकेको छ,” उनले भने ।