कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा : कमल थापा

398

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका छन् । कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा मात्र हुने उनको भनाइ छ ।

शनिबार काठमाडौंको क्षेत्र नम्बर ५(क)ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रदेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले १४ वर्षअघि आमुल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको बताए ।

अध्यक्ष थापाले मुलुकमा व्याप्त विकृति, विसंगति र बेथितिको अन्त्य चाहने हो भने अब जनताको रोजाइ राप्रपा हुनुपर्ने बताएका छन् । थापाले धर्मनिरपेक्षताको आडमा संगठित र योजनाबद्धरुपमा सनातन धर्ममाथि आक्रमण भइरहेको बताउँदै प्रमुख नेताहरुको अकर्मण्यताले विदेशी चलखेल बढेको समेत बताए ।

पार्टीको महाधिवेशन र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्न कार्यकर्तालाई निर्देशन दिँदै थापाले संगठन सुदृढीकरण, सक्रिय सदस्यता वितरण अभियान र जनताको सुखदुःखमा उच्च प्राथमिकता साथ काम गर्न आग्रह गरे । कांग्रेस र कम्युनिस्टको असफलता, भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्दै देशव्यापी आन्दोलनमा जानुपर्ने आवश्यकता औँल्याउँदै थापाले जनताका विकल्प खोजेका छन् । अबको विकल्प राप्रपा बनाउनका निमित्त सक्रियतापूर्वक काम गर्न जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...