प्रचण्ड भन्छन्, ‘४९ जना सांसद्लाई नै मन्त्री चाहिएपछि तनावमा छु’

352

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताएका छन् ।

शनिबार बिहान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नर बहादुर कर्मचार्यको ८औँ स्मृति दिवस का अवसरमा पर्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सरकार विस्तारलाई लिएर आफू चिन्तामा रहेको बताएका हुन् ।

आफ्नो पार्टी माओवादी केन्द्रका सबै सांसद्ले मन्त्री चाहेको बताए । “मन्त्री बन्न दवाव दिने मान्छेहरुको हुलबाट आएको छु म,” प्रचण्डले भने,“४९ जना सबैलाई मन्त्री चाहिएको छ । तर, पाउने थोरै छ ।”

पछिल्लो समय पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको उनले जनाए । “मन्त्री नभए नेतृत्वलाई सरापेर हिँड्ने अवस्था बनेको छ । नियुक्ति पायो भने ठीक छ नभए बदमाश भनेर गाली गर्ने प्रवृत्तिको विकास भएको छ,” उनले भने ।

सर्वोच्च अदालतको परमादेशपछि विपक्षी गठबन्धनलाई नेतृत्व गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा असार २९ गते प्रधानमन्त्री भएका हुन् । देउवा मन्त्रिपरिषद्मा हाल उनीसहित पाँचजना मन्त्री छन् । जसमध्ये कांग्रेसका दुई र माओवादीका दुईजना मन्त्री छन् । अब माओवादीको भागमा ६–७ जना मन्त्री बन्न पाउने अवस्था भएपनि सबैले मन्त्री चाहेको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...