आममाफी दिने ओलीको घोषणालाई माधव नेपालले दिए ‘श्री ५’ हुकुमको संज्ञा

342

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिएका छन् ।

पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै नेता नेपालले भने,“हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाललगायत माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गद्गद् भयौँ !”

ओलीले दिएको आममाफीमा अब नाच्नुपर्ने भन्दै उनले कटाक्ष गरे । “महाराजधिराज खुसी हुनुभएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नुपर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ?” नेपालले भने ।

नेता नेपालले आफूसहित २२ जना सांसद्हरुलाई स्पष्टीकरण सोध्नु गल्ती भएको भन्नुभन्दा पनि त्यसो नगरेको उनको भनाइ छ ।

“स्पष्टीकरण सोध्नु गल्ती भयो, हतार गरेँ, मैले फिर्ता लिएको भनेको भए के हाइट घट्थ्यो ?,” उनले भने,“मर्यादा घट्यो ? डोरी जल्यो तर बाँधिएको गाँठो उस्ताको उस्तै छ । यस्तो पनि हुन्छ ?”

साथै, सत्ताबाट बहिर्गमन भए पनि अध्यक्ष ओलीको व्यवहारमा परिवर्तन नभएको पनि नेता नेपालले बताए । “मान्छे सुध्रिएलान भन्यो । आज सुध्रिन्छ कि भन्या भोलि सुध्रिन्छन् कि भन्या छ । केही नबोलेर हिजो मीठो–मीठो शब्द पनि मैले बोलेँ पुष्पलालको कार्यक्रममा । ख्याल गरेर बोलेको छु । जिब्रोले बोल्दी पो हाल्लाकी भन्ने कत्रो चिन्ता ? बादशाहलाई घोडाबाट झारेपछि पनि नहुँदो रहेछ,” नेपालले भने ।

नेता नेपालले ३ साउनमा प्रतिनिधिसभा विघटन गर्ने अर्को षड्यन्त्र असफल पारेको भन्दै आफूहरुसँग जोडिएर प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने २२ सांसद्लाई सलाम गरेका छन् ।

“केपी ओलीले सांसद् विघटन गर्ने मेरो कदम ठीक थियो, म दूरदर्शी नेता हुँ, भन्न खोज्नुभयो, तर त्यसलाई हामीले जोगाएका छौँ, संविधानको रक्षा गरेका छौँ, मसँग जोडिएर देउवालाई मत दिने २२ जना सांसद्लाई पनि सलाम गर्न चाहन्छु,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...