काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले अदालतको फैसला विश्वकै नमुना रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभामा बोल्दै उनले नेपालको नजिर विश्वका लागि अब उदाहरणीय बन्ने समेत दाबी गरे ।
उनले भने,“अहिलेको अदालतले गरेको व्याख्या संसारकै नमुना छ । हिजो बेलायत, भारत, अमेरिका, पाकिस्तानका नजिर हामीले पढ्थ्यौँ । अब बेलायतले नेपालको नजिर पढ्दै छ । विश्वका अरु देशले यसलाई नमुना बनाउँछन् ।”
राष्ट्रियसभामा बोल्दै उनले संविधानको अन्तिम व्याख्याको अधिकार अदालतलाई दिइएको बताउँदै, उक्त फैसलाको विरोधमा उत्रनु गलत भएको बताए ।
उनले फैसलाको विरोध गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षलाई संविधानको धारा १२६ र १२८ पढ्न आग्रह गरे । “संविधानको धारा १२६ र १२८ पढेको छ कि छैन ? विरोध गर्ने ओलीले म मान्छु भनेर सहिछाप गरेको छ कि छैन ? अन्तिम ब्याख्या गर्ने अधिकार अदालतलाई दिने भनेको छ कि छैन ? जनतालाई झुक्याउने ?” विडारीले भने ।