ओलीको घोषणा : आम माफी भयो, आउनुस् मिलेर काम गरौँ

530

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएकाहरुलाई आममाफी दिने बताएका छन् । बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले बाटो बिराएकाहरु (माधव कुमार नेपाल पक्ष)लाई पार्टीमा फर्किए आममाफी दिन सकिने बताएका हुन् ।

ओलीले भने,“आज यस दिनमा बाटो बिराएका भड्किएका साथीहरुलाई पनि म भन्छु, पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु यो पार्टीको एकताका लागि जे सुकै भएको होस्, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाल सम्झिएर भन्न चाहन्छु –सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।”

ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा पनि आह्वान गरे । “हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिउँ देश र जनताको कुरा गरौँ,” उनले भने,“अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।”

झन्डै एक घन्टा लामो सम्बोधन गरेका ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताए । पुष्पलालले रोपेको र मदन भण्डारीले स्यहारसुसार र प्रवलीकरण गरेको भन्दै उनले भने,“यो कर्कलोको पातको पानी होइन, कसैले हल्लाउँदैमा भुइँमा खस्छ ।”

ओलीले कम्युनिस्ट पार्टीमा नेतृत्वलाई घेराबन्दी गर्ने सिलसिला पुरानै रहेको बताए । “नेपालको इतिहासमा नेतृत्वमाथि प्रहार सधैँ हुन्थ्यो । विगतमा पुष्पलाललाई आफ्नैले घेराबन्दी गरेका थिए । जुन सिलसिला कम्युनिस्ट पार्टीभित्र अहिले पनि कायम छ । नेतृत्वलाई बदनाम गर्ने, घेराबन्दी गर्ने काम अहिले पनि चलिरहेको छ । आजको नेकपा एमालेमा यो सिलसिला अन्त्य गर्ने छ । हामी आन्दोलनलाई फेरि सही दिशामा अघि लैजान्छौँ । पुष्पलाल र मदन भण्डारीले अघि सारेका विचारका आधारमा नयाँ ढंगले हाम्रो आन्दोलन अघि जान्छ,” ओलीले भने ।

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न दुनियाँ लाग्दा पनि खुट्टा समेत हल्लाउन नसकेपछि अदालतको परमादेशबाट हराइएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...