काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीभित्रका घाउ–खटिराले दुःख दिइरहेको बताएका छन् । आफूलाई जनै खटिराले दुःख दिएका स्मरण गर्दै उनले पार्टीभित्र पनि विभिन्न घाउ–खटिरा आएको बताए ।
पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले अब अपमान सहेर नबस्ने बताए । तर, परिस्थिति के हुन्छ भनेर आफू
ले हेरिरहेका उनको भनाइ छ । “आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुन्न । तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन,” नेपालले भने ।
गलत कुरालाई सहेर बसेमा दास प्रवृत्ति मौलाउने उनले बताए । “कम्युनिस्ट दास हुन सक्दैन । अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन । त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नुपर्छ । हावादारी कुराले केही परिवर्तन हुने वाला छैन । आन्दोलनलाई नयाँ हिसाबले लैजानुपर्छ । कम्युनिस्ट पार्टीको काँधमा ठूलो दायित्व आएको छ,” उनले भने ।
कमीकमजोरी हटाएर शुद्धीकरण गरी पार्टीलाई नयाँ ढंगबाट अघि लैजाने जिम्मेवारी अहिले आफूहरुको काँधमा रहेको नेता नेपालले बताए ।
कम्युनिस्ट पार्टीमा नेता नभइ नीति प्रधान हुने उनले बताए । उनले भने,“अहिले जुन बाँदर जुलुसलगायतका गतिविधि भइरहेको छ, यो अराजकता प्रस्तुत भइरहेको छ । यसले राम्रो गर्दैन । हामीले अझै पनि एकताबद्ध एमाले चाहिँ रहेका छौँ ।”
कार्यक्रममा नेता नेपालले पुष्पलाल श्रेष्ठको जीवनी‘नेपाल रत्न पुष्पलाल’ पनि विमोचन गरे । उनी प्रतिस्ठानका अध्यक्ष समेत हुन् ।