काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसद्लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधव कुमार नेपालसहितका सांसद्लाई कारबाही गर्ने जनाएको हो ।
एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले वरिष्ठ नेता नेपालसहितका सांसद्लाई पार्टी विधि विधान र निर्णयविरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिए । आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्दा एमालेका २२ सांसद्ले पार्टी निर्णयविरुद्ध विश्वासका पक्षमा मतदान गरेका थिए ।
बैठकले स्पष्टीकरण २४ घन्टाभित्र पेस गर्न भनिएको छ । स्पष्टीकरणका आधारमा कारबाही प्रक्रियाबारे निर्णय हुने उनले बताए ।
विश्वासको मत दिने ओली पक्षका कृष्णकुमार श्रेष्ठ (किसन), प्रेमबहादुर आले, बिना बुढाथोकी, हिराचन्द्र केसी, पार्वती विसुंखे, कलिला खातुन, धनबहादुर बुढा र समिमा हुसेन गरी ८ जना सांसद् छन् ।
माधव कुमार नेपालसहित विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, गोपाल बम, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कृष्णलाल महर्जन छन् ।
दश बुँदे सहमतिलाई स्थायी कमिटी बैठकले गरेको अनुमोदनलाई आज बसेको केन्द्रीय कमिटी बैठकले पनि अनुमोदन गरेको छ । उनले १० बुँदे सहमतिअनुसार नै पार्टीलाई एकतावद्ध बनाउने निर्णयसमेत बैठकले गरेको बताए ।
प्रवक्ता ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठक भोलि दिउँसो ३ बजे फेरि बस्ने छ ।