काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले शेर बहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री शेर बहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै ठाकुरले यस्तो बताएका हुन् ।
“हामी शेर बहादुर देउवालाई मत दिन्छौँ,” उनले भने,“जनताको आदेशले होइन परमादेशले बनेको सरकार हो । मेरो निवेदन के हो भने जब प्रधानमन्त्रीको निर्वाचनको प्रशंग आउँछ तब हामी आफूलाई अर्थत् हाम्रो आन्दोलनलाई कमजोर बनाएको पाउँछौँ ?”
ठाकुरले संविधानमा अझै विभेद कायम रहेको दाबी गरेका छन् । “सुशील कोइरालालाई मत दिँदा हाम्रो आन्दोलन मत्थर भयो । अहिले पनि हामी मत दिन आएका छौँ,” उनले भने,“यो संविधानले गर्दा हामीले गोली खानु परेको छ । जेल जान परेको छ ।”
नागरिकता विधेयकसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र अदालतको आदेश आफूहरुले मान्ने भन्दै उनले राष्ट्रियता अदालतले कि राज्यले गर्ने भनी प्रश्न गरे ।
नागरिकता नहुँदा नागरिकको सामान्य कामहरु रोकिएको भन्दै उनले जग्गा जमिनदेखि पासपोर्ट नपाएर श्रम गर्न समेत नपाएको दाबी गरे । समाजले यस्ता व्यक्तिको योग्यता पाउन नसकेको भन्दै उनले मूर्तिको भएको तर जीवित व्यक्तिको व्यक्तित्व अस्वीकार भएको बताए ।