काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा एमालेलाई सत्ताबाहिर हुँदा ढाँटछल नगर्न चेतावनी दिएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री शेर बहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रचण्डले यस्तो बताएका हुन् ।
“हामी राष्ट्रपति कार्यालयमा अस्वाभाविक परिघटना भए । त्यहाँ प्रधानमन्त्री नियुक्तिमा प्रयोग भएको भाषा संविधानको मर्म र भावनाविपरीत थियो । शपथग्रहण रोकिएको थियो । हरेक पटक हामी शान्ति प्रक्रियामा आएपछि पनि आउने र जाने प्रधानमन्त्री साइड बाइ साइड कुर्सीमा बस्ने परम्परा थियो । शपथपछि कुर्सी साटिन्थ्यो । तर, अहिले शेर बहादुर देउवाका सन्दर्भमा देखिएन । निवर्तमान प्रधानमन्त्री उपस्थित हुनुभएन । को भित्र लोकतान्त्रिक संस्कार छ ? भिन्न मतलाई स्वीकार गर्न सक्ने क्षमता को सँग छ ? नैतिकता र संस्कारको प्रश्न हो भन्ने ठान्छु त्यो ।”
उनले व्यक्तिवाद, अहंकारवाद, चरम महत्वकांक्षा ओलीमा रहेको बताए ।
“भन्ने एउटा गर्ने अर्को ? त्यसको साक्षी हामी थिएनौँ ?” प्रचण्डले भने,“हामी ज्युँदै छौँ र उपस्थित छौँ के, अब चल्दैन । किन पत्याउने तपाईंलाई ? गोहीको आँशु देखाउने ? प्रणालीको चिन्ता अझै ?”
उनले पार्टीभित्रको विवाद मिलाउन नसक्ने अनि संसद्लाई प्रहार गर्ने कुन चाहिँ लोकतन्त्र हो भन्दै प्रश्न गरे । “सत्ताको बलले त्यसलाई किच्न खोज्ने कुन चाहिँ लोकतन्त्र हो ?” उनले भने ।
उनले सदन पार्टीभन्दा माथि सार्वभौम जनताको अधिकार रक्षा गर्न दिएको अधिकार भएको बताए ।