काठमाडौं । नेकपा (एमाले)का नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा श्रीमान् ५ बाट प्रधानमन्त्री नियुक्त भएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले पेस गरेको विश्वासको मत माग्ने सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता ज्ञवालीले २०६१ सालमा‘श्री ५’ तत्कालीन राजाबाट प्रधानमन्त्री नियुक्त भएका देउवा अहिले ‘श्रीमान् ५’बाट नियुक्ति पाएको टिप्पणी गरे ।
“२०६१ जेठमा देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । त्यतिबेला उहाँले श्री ५ बाट न्याय पाएँ भन्नुभएको थियो । तर, त्यो न्याय माघ १९ मा कहाँ गयो,” ज्ञवालीले भने,“अहिले सर्वोच्च अदालतका ५ जना श्रीमान् (न्यायाधीश)बाट प्रधानमन्त्री नियुक्त हुनुभएको छ । उतिबेला श्री ५ बाट प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । अहिले श्रीमान् ५ बाट !”
उनले सर्वोच्च अदालतले संविधानको धारा ७६को उपधारा ५को अपव्याख्या गरेको भन्दै झस्केलामार्फत निर्दलीयतालाई प्रवेश गराउने काम भएको टिप्पणी पनि गरे ।