काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवादमा आज सुनुवाइ हुँदै छ । निर्वाचन आयोगले जसपाको दुवै पक्षलाई आज आयोगमा बोलाएको छ ।
पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अन्तर्गत सुनुवाइ हुन लागेको हो ।
आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियकाको नेतृत्वमा आयुक्तहरुको ५ सदस्यीय इजलास गठन गरेको छ ।
जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगमा निवेदन दिएको थियो ।
सो ऐन अनुसार दुवै पक्षलाई बोलाएर आयोगल असार २२ गते सहमति जुटाउने प्रयास गरेको थियो । तर, उक्त प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको हो । मेलमिलापका लागि आयोग पुगेका जसपाका उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष मिलाप असम्भव भएकाले‘डिभोर्स’ गर्न तयार भएको बताएका थिए ।
आयोगले छिट्टै नै विवाद निरुपणको तयारी गरेको छ । आजै बहस सुरुवात भएमा एक पक्षलाई ३ घन्टाको समय दिने आयोगको तयारी छ ।