काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइरालाबीच छलफल भएको छ ।
शनिबार महाराजगञ्जस्थित महामन्त्री शशांक कोइराला निवासमा भएको छलफलमा राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको हो ।
त्यस्तै, सरकारलाई विश्वासको मत दिलाउने र पार्टीको १४औँ महाधिवेशनका विषयमा कुराकानी भएको नेताहरुले जनाएका छन् । छलफलपछि कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रिय राजनीतिका कुराकानी भएको बताए । उनले सरकारलाई प्रभावकारीरुपमा अघि बढाउनेलगायतका विषयमा कुराकानी भएको पनि बताए ।
राष्ट्रिय राजनीतिलाई कांग्रेसको नेतृत्वमा अगाडि बढाउँदै महाधिवेशनलाई सफल बनाउने विषयमा नेताहरुबीच छलफल भएको बताइएको छ । १४औँ महाधिवेशनमा पार्टी नेतृत्वका लागि उम्मेदवार चयनका लागि कांग्रेस नेताहरुबीच छलफल चल्दै आएको छ ।