एमालेको जनमत हुँदाहुँदै पनि अदालतको परमादेशबाट सरकार देउवालाई सुम्पिनुपर्‍यो : तामाङ

210

काठमाडौं । नेकपा (एमाले)का नेता तथा सांसद् शेर बहादुर तामाङले जतिसक्दो छिटो विश्वासको मत लिन प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले लामो समय सरकारमा बस्न मन भए छिटो विश्वासको मत लिन प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् ।

उनले आफ्नो पार्टीभित्रको विवाद मिल्ने क्रममा रहेको भन्दै एमाले एकताबद्ध भए देउवाले विश्वासको मत नपाउने जिकिर गरे । तामाङले आफ्नो पार्टीको जनमत हुँदाहुँदै पनि अदालतको परमादेशबाट सरकार देउवालाई सुम्पिनुपरेको बताए । देउवाले विश्वासको मत नपाए मुलुक निर्वाचनमा जाने उनको भनाइ छ ।

त्यस्तै कांग्रेसका नेता मिन बहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओली ‘रेड कार्ड’ खाएर बालुवाटारबाट बालकोट गएको टिप्पणी गए । आफूहरुले मुलुक र व्यवस्था बचाउनको लागि रिट दर्ता गरेको र सर्वोच्च अदालतले सोहीअनुसार फैसला गरेको विश्वकर्माको भनाइ छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने र यो संसदले पूर्ण कार्यकाल व्यतित गर्ने दाबी गरे । उनले वर्तमान प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमतिका साथ अघि बढ्ने बताएकोले सोहीअनुसारनै आफूहरु अघि बढ्ने पनि बताए ।

Share This:
सम्बन्धित खबर
Loading...