काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कोभिड–१९ले असर पारेको समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटवार्तामा बिहीबार उनले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर र सुधारका विषयमा छलफल गर्दै कोरोनाले अर्थतन्त्रमा पारेको असरलाई लयमा फर्काउन प्रयासरत रहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई निर्धक्क काम गर्न अनुरोध समेथ गरे ।
महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले थिलोथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन, तत्काल यो क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।