काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अखिल फोर्स गठन गरेको छ ।
बिहीबार नेपाल समूहले काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसका स्ववियू सभापति तपेन्द्र बहादुर शाहीको संयोजकत्वमा ५ सय १ सदस्यीय अखिल फोर्स गठन गरेको जनाइएको छ ।
ओलीनिकट राष्ट्रिय युवा संघको बुधबारको बैठकले युथ फोर्स ब्युँताएसँगै नेपाल पक्षले अखिल फोर्स गठन गरेको हो ।
बिहीबार आरआर क्याम्पसमा नेपाल समूहको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को उपत्यकास्तरीय कार्यकर्ता भेलामार्फत शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।
नेता नेपाललगायत आफ्ना नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरु प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको उनले बताए ।