काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ ।
बुधबार सिंहदरबारमा पदभार गर्दै नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गरेका हुन् ।
अर्थमन्त्री शर्माले कोभिड–१९ नियन्त्रण तथा रोकथामअन्तर्गत दायित्व व्यवस्थापनका लागि स्रोतको सुनश्चिततासम्बन्धी निर्णय गरेका हुन् । पदवाहालीपछि उहाँले कोरोना रोकथाम तथा नियन्त्रण र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क गर्ने सरकारको प्राथमिकता रहेको भन्दै त्यसका लागि दत्तचित्त भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
अर्थमन्त्री शर्माले कोरोनाले थिलोथिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले सरकार निजी क्षेत्रसँगसँगै अगाडि बढ्नुपर्ने बताए । गरिब, पछाडि परेका, सीमान्तकृत नागरिकको समस्या समाधान हुने गरी आर्थिक नीति बनाउनुपर्ने उनले बताए ।
यसअघि शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मंगलबार सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने पहिलो निर्णय गरेको थियो ।