काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । आजको बैठकमा पार्टी भित्रको आन्तरिक विवाद तथा कार्यदलले गरेको १० बुँदे सहमतिका बारेमा समीक्षा हुने बताइएको छ ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज अपरान्हसम्म पार्टी कार्यालय थापाथलीमा स्थायी कमिटी बैठक बस्ने तयारी भए पनि समय निर्धारण भइसकेको छैन ।
कार्यदलले आन्तरिक विवाद समाधान गर्नेगरी १० बुँदे सहमति गरिसकेकाले बैठकबाट सो सहमति अनुमोदन हुने पनि उनले बताए । कार्यदलका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई सहमतिको दस्तावेज हस्तान्तरण गरिसकेका छन् । आज बस्ने बैठकमा पार्टी एकताको सन्देश दिन पनि सहमतिको दस्तावेज अनुमोदन हुने नेता तामाङले बताए ।
स्थायी कमिटी बैठक मंगलबार १ बजेका लागि तय गरिएको भएपनि प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने समय २ बजे तय भएपछि स्थायी कमिटी बैठक स्थगित भएको थियो ।
कार्यदलले सहमति गरेको विषय स्थायी कमिटीमा छलफल गरी अनुमोदन गर्ने र थप अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी एमालेले गरेको छ । स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठकको समय निर्धारण हुने नेता तामाङले जानकारी दिए ।