काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनसँगै एउटै कमिटीमा नभेटिएका नेकपा (एमाले)का नेताहरु आज पहिलोपटक औपचारिकरुपमा स्थायी कमिटी बैठकमा भेट हुँदै छन् ।
एमाले एकता कार्यदलको हस्ताक्षर गरेको १० बुँदे सहमति अनुमोदनका लागि सोमबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । बैठकले १० बुँदे सहमतीलाई अनुमोदन गर्ने छ ।
योसँगै ६ महिनापछि एमालेको आन्तरिक एकता कायम भएको छ । एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी सदस्यकै हैसियतमा सर्वोच्च अदालतबाट एमाले पुनःस्थापना भएपछि वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय नेताहरु पहिलोपटक पार्टी बैठकमा सहभागी हुँदै छन् ।
२०७५ जेठ २ अघि जो जुन पदमा थिए सोही पदीय हैसियतमा बैठकमा सहभागी हुँदै गर्दा नेकपाकालीन ८ जना स्थायी कमिटी सदस्य एमालेको सोही पदीय हैसियतमा थपिने भएका छन् ।
नेकपाकालीन स्थायी कमिटीमा एमालेबाट थपिएका चार सदस्य रघुजी पन्त, विष्णु रिमाल, रघुवीर महासेठ र बेदुराम भुसाल स्वतः स्थायी कमिटीमा रहने छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमालेमा प्रवेश गरेका राम बहादुर थापा‘बादल’, टोप बहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि एमालेको स्थायी कमिटी पनि एमालेको स्थायी कमिटी सदस्यका हैसियतमा सहभागी हुने छन् ।
२०७५ जेठ २ अघि २२ सदस्यीय रहेको एमाले स्थायी कमिटी अब ३० सदस्यीय हुने भएको छ ।
एमाले स्थायी कमिटी
अध्यक्ष केपी शर्मा ओली
वरिष्ठ नेता झलनाथ खनाल
वरिष्ठ नेता माधव कुमार नेपाल
उपाध्यक्ष वामदेव गौतम
उपाध्यक्ष युवराज ज्ञवाली
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य
उपाध्यक्ष भीम बहादुर रावल
महासचिव ईश्वर पोखरेल
उपमहासचिव विष्णुप्रसाद पौडेल
उपमहासचिव घनश्याम भुसाल
सचिव प्रदीप ज्ञवाली
सचिव पृथ्वीसुब्बा गुरुङ
सचिव योगेश भट्टराई
सचिव भीम आचार्य
सचिव गोकर्ण विष्ट
सदस्य शंकर पोखरेल
सदस्य सुरेन्द्र पाण्डे
सदस्य सुवासचन्द्र नेम्वाङ
सदस्य मुकुन्द न्यौपाने
सदस्य किरण गुरुङ
सदस्य छविलाल विश्वकर्मा
सदस्य सत्यनारायण मण्डल
नेकपा भएपछि थपिएका
सदस्य बेदुराम भुसाल
सदस्य रघुजी पन्त
सदस्य रघुवीर महासेठ
सदस्य विष्णु रिमाल
पूर्वमाओवादीबाट
सदस्य राम बहादुर थापा‘बादल’
सदस्य टोप बहादुर रायमाझी
सदस्य लेखराज भट्ट
सदस्य मणि थापा
पदेन सदस्य
अमृत कुमार बोहरा, अनुशासन आयोग अध्यक्ष
डा. पुष्प कँडेल, लेखा आयोग अध्यक्ष
केशब बडाल, सल्लाहकार परिषद् अध्यक्ष