काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला आएपछि पार्टी एकढिक्का हुने बताएका छन् ।
आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले पार्टी विवाद समाधान गर्न गठित कार्यदलले त्यसअघि नै सहमति जुटाउन सके अझ राम्रो हुने बताए ।
“नेकपा एमालेभित्रको अन्तरविरोध समाधान गर्नका निम्ति दुईवटा समूहबाट एउटा कार्यदल बनेको छ । र त्यसले आज ८ बजे खुसीको खबर आउँछ भनेको थियो,” गौतमले भने,“मैले भनेको थिएँ त्यो खुसीको खबर सर्वोच्चको पछि आउँछ भनेर । मेरो भनाइ लागु नहोस्, भरेसम्म खुसीको त्यो खबर आओस् भन्ने चाहन्छु । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुने छ ।”
उनले पार्टी विवादमा आफू अध्यक्ष केपी शर्मा ओलीतिर नमिलेको भन्दै अझै तटस्थ रहेको बताएका छन् ।
“पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सभामा म गएको भनी धेरै आलोचना भयो । वामदेव केपीतिर गयो भनियो । म यो सभामार्फत् सबैलाई भन्न चाहन्छु म कुनैतर्फ होइन, एमाले हो त्यही प्रमाण पेस गर्न गएको हो,” उनले भने ।
नेकपा विवाद हुँदा आफूले बोल्न नसकेको उनले बताए । एमाले भएपछि एमालेमै रहेर बोल्नुपर्ने उनको भनाइ छ । उनले पार्टीमा जिम्मेवारी पाए भूमिका निभाउन आफू तयार रहेको समेत प्रष्ट पारे ।