माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको छ : रायमाझी

472

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पूर्वनेता टोप बहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् ।

शुक्रबार माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेतासहित पुगेका रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका हुन् ।

उनले विगत् २९ वर्षदेखि त्यस पार्टीमा महाधिवेशन नभएको भएपनि २०६९ सालमा एउटा नाममात्रैको महाधिवेशन भएको र त्यसपछि पनि महाधिवेशन नभएको कारण पार्टी नै अवैध भएको पनि बताए । उनले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरेको पनि उल्लेख गरे ।

“माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चलिरहेको छैन । एक प्रकारले भन्ने हो भने भूमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ । झन्डै २८/२९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । २०७८ सालसम्म, ९ वर्षसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन । एमाले, माओवादीको एकतालाई शून्य समय माने पनि झन्डै ७ वर्ष भयो,” रायमाझीले भने,“राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने भनेको छ । उसले आफ्नो अद्यावधिक गर्न सकिरहेको छैन । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्यो । संघीय सांसद्, प्रदेश सांसद्, पालिकाका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?”

उनले राजनीतिक पार्टीहरु संस्थागत, वैधानिक र कानुनसम्मत हुनुपर्ने बताए । देशमा राजनीतिक पार्टीहरुमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै उनले पार्टीहरुलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताए । राजनीतिक पार्टीहरुबीचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरी स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि बताए ।

नेता रायमाझीसहित निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्वनेताहरु प्रभु साह, मणि थापालगायत पुगेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...