काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् एकता कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले शुक्रबार बस्ने कार्यदलको बैठकमा पार्टीभित्र विवादित विषय सहमतिका साथ टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सिंहदरबारमा बिहीबार दोस्रोपटक भएको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले आज सहमतिका लागि गृहकार्य भएको र शुक्रबार बिहान ११ः३० बजे बस्ने बैठकमा सबै विषय निष्कर्षमा पुग्ने बताएका हुन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ७ गते दोस्रोपटक प्रतिनिधिसभाको विघटन भएपछि एमाले विवाद बल्झिएको थियो ।
कार्यदलमा दुवै पक्षका पाँच/पाँच जना सदस्य छन् । ओली पक्षका सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल पक्षबाट डा.भीम रावलको संयोजकत्वमा, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।