नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै

300

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दै छ। बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो।

सोमबारदेखि लगातार बसिरहेको बैठक निष्कर्ष नजिक रहेको नेताहरुले बताएका छन् । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले आजसम्म विवाद टुंग्याउने गरि लाग्ने हिजै बताएका थिए । विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र आजसम्म टुंगिने उनको भनाइ थियो ।

कार्यदल निष्कर्ष नजिक पुगेसँगै हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता पनि भएको थियो ।

पछिल्लो समय निकै कटुतापूर्ण सम्बन्धमा रहेका ओली र नेपालबीच बुधबार साँझ काठमाडौंको नागपोखरी, नक्सालस्थित मेरियट होटलमा झन्डै दुई घन्टा वान टु वान वार्ता भएको थियो।

अलग पार्टीको अभ्यासमा अघि बढिसकेका एमालेका दुई शीर्ष नेताबीचको यो वार्ता निष्कर्षविहीन बन्यो । वार्तापछि ओली र नेपालले कुनै प्रतिक्रिया दिएनन् । तर वार्ताअघि ओली र नेपालसहित मेरियटमै भएको संयुक्त छलफलमा सहभागी एमालेका दोस्रो तहका नेताहरु भने बुधबार साँझको वार्ताबाट आशावादी देखिएका थिए ।

दुई अध्यक्षबीचको कुराकानीका आधारमा आज कार्यदलको बैठकमा थप छलफल हुने नेताहरुले बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...