काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र देवले खोप कुटनीतिमा सरकार असफल भएको बताएका छन् ।
राष्ट्रियसभाको बुधबार बसेको बैठको विशेष समयमा बोल्दै देवले सरकार कमिसनको दलालीले घेरिँदा पैसा तिरेको काभिशिल्ड खोप नआएको आरोप लगाएका हुन् ।
यो कुरा आफूले भनेको नभइ तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सार्वजनिकरुपमा भनेको पनि देवले दाबी गरे । “खोप ल्याउन नसक्दा सरकार असफल भएको छ । कमिसनको घेरामा सरकार घेरिँदा भारतबाट कोभिशिल्ड नआएको हो यो कुरा महसुस गर्ने कि नगर्ने ?” उनले भने, “कूटनीतिक वार्ता कसले गर्ने ? राष्ट्रपतिले गर्ने हो ? अहिलेको सरकारले परराष्ट्र मन्त्रालयलाई पंगु बनाएको छ ।”
दक्षिण एसियाका चार देशले अमेरिका र युरोपेली देशको सहयोगमा खोप ल्याइरहेका बेला नेपालले नसक्नु सरकारको कुटनीतिक असफलता भएको बताए ।
अमेरिकी सहयोगमा बंगलादेश र पाकिस्तानले मोडेर्ना कम्पनीको २५ लाख डोज पाएको, श्रीलंकाले पनि अमेरिकी सरकारकै सहयोगमा फाइजरको खोप पाएको र भुटानले डेनमार्कबाट २५ लाख डोज खोप पाएको देवले उल्लेख गरे । ती देशसँग नेपालको पनि दशकौँ लामो कूटनीतिक सम्बन्ध रहेको भन्दै उनले नेपालले किन खोप ल्याउन नसकेको भनी प्रश्न गरे ।
सरकारको गलत नीतिका कारण अहिले परराष्ट्र मन्त्रालय फेल भएको पनि देवले आरोप लगाए । “कूटनीतिक फेलका कारण हामीले खोप ल्याउन सकेनौँ । यरलाई सरकारे महसुस गर्नुपर्छ, तयार छ कि छैन ?” उनले भने,“कुनै देशमा राष्ट्रपतिले खोप मागेर पत्र लेखेको सुनिएको छ ? यो बच्चपन कूटनीतिक मुभ हो । यस्तो काम गर्नु हुँदैन थियो ।”