काठमाडौं । समयमा महाधिवेशन नगरेको नेकपा (माओवादी केन्द्र) खारेजीको माग गरेर आज निर्वाचन आयोगमा दुई वटा निवेदन दर्ता हुने भएको छ ।
माओवादी छाडेर नेकपा एमालेमा लागेका कारण पदमुक्त भएका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिने भएका हुन् । यस्तै, एकजना अधिवक्ताले माओवादी खारेजीको माग गर्दै आज नै आयोगमा जाने भएका छन् ।
२०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै राम बहादुर थापा‘बादल’ समूहले आयोगमा उजुरी दिन लागेका हुन् ।
दिउँसो १२ बजे आयोगमा गएर माओवादी पार्टी अवैध भएको माग दाबीसहित उजुरी गरिने नेता प्रभु साहले जानकारी दिए ।
साहले आफूहरु प्रत्यक्ष निर्वाचित सांसद् भएकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको कारबाही वैधानिक नभएको समेत जानकारी गराइने बताए ।
सर्वोच्च अदालतले फागुन २३ मा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा (एमाले)तिर लागेका कारण तत्कालीन प्रतिनिधिसभा सदस्य टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई कारबाही गरेको थियो ।
त्यही कारणबाट उनीहरुको सांसद् पद गएको छ ।