प्रधानमन्त्री ओलीसँग छलफल गर्न विप्लव समूहका नेता बालुवाटार जाँदै

254

काठमाडौं । सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहमति कार्यान्वयन हुन ढिलाइ भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेको छ ।

गत फागुन २१ गते विप्लव समूह र ओली नेतृत्वको सरकारबीच भएको ३ बुँदे सहमतिअनुसार आफ्नो कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव समूह असन्तुष्ट बनेको हो ।

सहमतिअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई तत्काल रिहा गर्ने भनिएको थियो । तर, सहमतिको ४ महिना बितिसक्दा पनि अधिकांश नेता कार्यकर्ता अझैपनि जेलमा रहेका छन् ।

यसैबीच पक्राउ परेका कार्यकर्ता रिहाइको विषयमा छलफल गर्नका लागि विप्लव नेतृत्वको नेकपाका नेताहरु आज बालुवाटार जाँदैछन् ।

प्रवक्ता खड्ग बहादुर विश्वकर्मा‘प्रकाण्ड’ नेतृत्वको वार्ता टोली बालुवाटार जान लागेको हो । सो क्रममा उनीहरुले ३ बुँदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताइएको छ ।

आजै प्रधानमन्त्रीसँगको भेटपछि विप्लव समूहले पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...