दक्षिण अफ्रिकाले जित्यो टी–२० सिरिज

525

काठमाडौं । निर्णायक टी–२० क्रिकेटमा वेष्ट इन्डिजमाथि २५ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले सिरिज जितेको छ ।

शनिबार राति भएको पाँचौ तथा अन्तिम खेलमा विजयी भएको दक्षिण अफ्रिकाले टी–२० सिरिज ३–२ले आफ्नो पक्षमा पारेको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेष्ट इन्डिजले १ सय ४३ रन मात्र बनाउन सक्यो । वेष्ट इन्डिजका इविन लुइसले ५२, शिम्रोट हिटमेयरले ३३, निकोलास पूरनले २० रनको पारी खेलेपनि त्यो जितका लागि पर्याप्त भएन ।

वेष्ट इन्डिजलाई कम स्कोरमा रोक्ने क्रममा दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ३, वियान मुलडर र कगिसो रबडाले समान २–२ विकेट हात पारे ।

यसअघि, ग्रेनडास्थित नेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा १ सय ६८ रन बनाएको थियो ।

दोस्रो विकेटका लागि क्वुइन्टोन डि कक र एडिन मार्क्रामले दोस्रो विकेटका लागि शतकीय सझेदारी गर्दै टोलीलाई सम्माजनक योगफलतर्फ डोहोर्याए । डि ककले ६० तथा मार्क्रामले ७० रन जोडे । यस्तै, डेविड मिलारले नटआउट १८ रनको पारी खेले ।

जितसँगै दक्षिण अफ्रिकाले पाँच खेलको टी–२० सिरिज ३–२ले जितेको छ । यसअधि पहिलो र चौथो खेलमा वेष्ट इन्डिज ८ विकेट र २१ रनले विजयी भएको थियो भने दक्षिण अफ्रिकाले दोस्रो र तेस्रो खेलमा १६ र १ रनको जित हात पारेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...