इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा

392

काठमाडौं । इंग्ल्यान्ड १६औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा युक्रेनमाथि ४–० गोलको सानदार जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।

इंग्ल्यान्डको जितमा ह्यारी केनले २, ह्यारी मग्वाएर र जोर्डन हेन्डरसनले एक–एक गोल गरे ।

इटालीको रोमस्थित स्टेडियो आलम्पिककोमा भएको खेलको चौथो मिनेटमा नै ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्डले अग्रता लिएको थियो । रहिम स्टर्लिङको पासमा केनले सुन्दर गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप ३ गोल गर्यो । दोस्रो हाफको ४६औँ मिनेटमा नै ह्यारी मग्वाएरले गोल गर्दै अग्रता दोब्बर बनाए ।

यसैगरी, खेलको ५०औँ मिनेटमा ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ३–०को स्थितिमा पुर्याए । त्यस्तै, ६३औँ मिनेटमा परिवर्तित खेलाडी जोर्डन हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई फराकिलो जित दिलाए ।

यो जितसँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्ने छ ।

शनिबार नै भएको पहिलो खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...