काठमाडौं । सत्तारुढ दल नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साढे ३ बजेपछि सुरु भएको हो ।
बैठकमा संगठनात्मक प्रस्ताव प्रस्तुत भइ त्यसउपर छलफल हुने बताइएको छ ।
एमाले पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङका अनुसार महासचिव ईश्वर पोखरेलले आजको बैठकमा संगठनात्मक प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु हुने छ । एमालेको १३औँ केन्द्रीय बैठक शुक्रबारदेखि सुरु भएको हो ।
आजको बैठकमा महाधिवेशनको मिति तय गर्नेबारेमा निर्णय हुनसक्ने पार्टी कार्यालयका सचिव तामाङले जानकारी दिए । यसअघि एमालेको दशौँ महाधिवेशन मंसिर २ गतेदेखि ६ गतेसम्म गर्ने तय गरेको थियो । पार्टी एकता कायम गर्ने उद्देश्यसाथ गत बुधबारको बैठकले महाधिवेशन आयोजक कमिटी विघटन गरी त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको थियो ।
तर, नेता माधव कुमार नेपाल पक्षका नेताहरु बैठकमा सहभागी नजनाएपछि महाधिवेशनको मिति पुनः तय गर्न लागिएको हो । शुक्रबार बसेको बैठकले नेता नेपाल पक्षका नेताहरुलाई पनि बैठकका लागि आह्वान गरेको थियो । तर, कोही नेताको उपस्थिति रहेन । हिजोको बैठकमा उपाध्यक्ष वामदेव गौतमको सहभागिता रहेको थियो ।