कांग्रेसमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्छ : सुजता कोइराला

265

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएकी छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना संस्थापक अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित ‘कांग्रेस महाधिवेशन र श्रमजीवी’ विषयक भर्चुअल अन्तरक्रियामा उनले लोकतन्त्र स्थापनामा श्रमिकको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन् ।

पूर्वउपप्रधानमन्त्री कोइरालाले मुलुकमा प्रजातन्त्र ल्याउनदेखि हरेक आन्दोलनमा श्रमजीवी वर्गले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताइन् । वर्तमान सरकारले श्रमिकको समस्या समाधान गर्न नसकेको उनको भनाइ थियो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको रुपान्तरणका लागि श्रमिकको महत्वपूर्ण भूमिका रहेको बताए । पार्टी र श्रमिक सँगसँगै गएमात्र पार्टी बलियो हुने उनको भनाइ थियो । प्रवक्ता शर्माले सरकारले जनताको हितमा काम गर्न नसकेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले दुई तिहाइ बहुमतसाथ स्थापना भएको वर्तामान सरकारले जनताको संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताए । केन्द्रीय सदस्य सीता गुरुङले श्रमिकसँग कांग्रेसलाई जोड्न सकेमात्र पार्टी र लोकतन्त्र बलियो हुने बताइन् ।

ट्रेड युनियनका पुस्कर आचार्यले कांग्रेस श्रमिक पक्षीय नीति निर्माण गरी वडा तहदेखि केन्द्रसम्म श्रमिक प्रतिनिधित्व गर्नुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...