काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभाले नतिजा नदिएपछि जनता निराशा पैदा भएको जिकिर गरेका छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दामा शुक्रबार बहस गर्दै गुरागाईंले प्रतिनिधिसभा पुनःस्थापना भएपनि सरकार बन्न सक्ने अवस्था नरहेको बताए । सरकार बनेपनि विश्वासको मत पाउने अवस्था नरहेको जिकिर गरे । “सरकार बन्न सक्ने अवस्था छैन । बने पनि विश्वासको मत पाउने अवस्था देखिँदैन । दलभित्र द्वन्द्व छ । सभामुख र दलहरु फरक–फरक अवस्थामा छन्,” उनले भने ।
अदालतले पुनःस्थापना गरेको संसद्ले पनि सरकार दिन नसकेको हुनाले दोस्रो पटक विघटनको आवश्यकता परेको उनको भनाइ छ । “अविश्वासको प्रस्ताव पनि आउन सकेन, संसद्ले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको अवस्था छ,” गुरागाईंले भने ।
संसद् पुनःस्थापना भए राजनीति अस्थिर बन्ने उनको भनाइ थियो । उनले चुनावबाट नयाँ जनप्रतिनिधि छानिने र देश अग्रगामी कोर्समा जाने बताए ।